News Category 2082/08/26

आन्तरिक राजश्व कार्यालय स्थापनाको  माग गर्दै रिले अनसन सुरु

दैनिक समाचारदाता

आन्तरिक राजश्व कार्यालय स्थापनाको  माग गर्दै रिले अनसन सुरु

दैनिक समाचारदाता
राजविराज, २६ मंसिर । 

    आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विभिन्न चरणको आन्दोलन पश्चात् शुक्रबारदेखी रिले अनसन सुरु भएको छ ।
    गठित संघर्ष समितिले दोश्रो चरणको आन्दोलनका कार्यक्रम अन्तरगत राजविराजस्थित गजेन्द्र चौकमा जिल्ला समन्वय समितिका प्रमुख शिवनाराण साहका साथै जिल्लाका १८ वटै पालिका प्रमुखहरुको सहभागितामा उक्त रिले अनसन सुरु भएको हो । 
    यसैबीच रिले अनसन स्थलमै पुगेका राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो पनि ऐक्यवद्धता जनाउँदै केहीबेर अनसनमा बसेका थिए । सो क्रममा उनले सप्तरीवासीले उठाएका मागप्रति समर्थनसहित सरकारसँग अविलम्ब माग सम्बोधनका लागि पहल गर्न माग गरे ।
    रिले अनसनमा जनप्रतिनिधिका साथै विभिन्न राजनीति दलका प्रतिनिधि तथा उद्योगी व्यवसायीहरुको व्यापक सहभागीता देखिएको छ ।
    गत मंसिर १७ गते सरकारले देशभरीका सम्पुर्ण करदाता सेवा कार्यालय खारेज गरेको निर्णय विरुद्ध सप्तरीबासी बुद्धिजिवी राजनीति दल, पत्रकार, जेनजी युवा, विभिन्न संघ संस्था, बैंक तथा वितिय संस्था, व्यापारी, उद्योगी लगायत आन्दोलित भएका छन् ।
    यसअघि संघर्ष समितिले पहिलो चरणको आन्दोलनमा दुई दिन जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना तथा एक दिन पालिका र जिल्लाका कार्यालयहरु बन्दको घोषणा गरेको थियो । त्यसअघि उद्योग बाणिज्य संघको नेतृत्वमा भएको आन्दोलनमा विभिन्न कार्यक्रमसहित १० हजार हस्ताक्षर संकलन गरि जिल्ला प्रशासन कार्यालयमार्फत संघीय सरकारको अर्थ मन्त्रालयलाई बुझाएका थिए । 
    जनयुद्ध कालमा आन्तरिक राजश्व कार्यालय राजविराजबाट सिरहाको लहानमा सारिएको थियो । लामो सम्वादपछी बि.स. २०७५ साल भदौं १६ गते तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले राजविराज वडा नं. ६ सिरहा रोडस्थित करदाता सेवा कार्यालय उद्घाटन गरेका थिए । त्यसपछी उक्त कार्यालय राजविराज वडा नं. ७ स्थित आफ्नै भवनमा सरेको थियो । तर भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएपछी कार्यालय क्षतिग्रस्त हुँदा हाल नजिकैको भाडाको भवनमा संचालन हुँदै आएको छ ।
    यसैबीच मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा यादव र अर्थमन्त्री महेश प्रसाद यादवले संघीय सरकारका अर्थमन्त्री रामेश्वर खनालसंग भेट गरी आन्तरिक राजस्व कार्यालय स्थापनाका लागि पहल थालेका छन् ।
    मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री महेश प्रसाद यादवले राजविराजमा हुँदै आएको आन्दोलनबारे अर्थमन्त्री खनाललाई जानकारी गराउँदै ज्ञापनपत्र बुझाएर अर्थमन्त्री खनालको ध्यानाकर्षण समेत गराए । ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री खनालले राजविराजमा करदाता सेवा कार्यालय हाललाई यथावतै राख्ने प्रतिबद्धता जनाएको मधेश प्रदेशका अर्थमन्त्री यादवले जानकारी दिए । राजविराजमा करदाता सेवा कार्यालय हाल यथावतै रहने र पछी सोही कार्यालयलाई स्तरोन्नती गरि आन्तरिक राजश्व कार्यालयमै परिणत गर्ने योजना रहेको अर्थ मन्त्री खनालले प्रतिवद्धता जनाएको अर्थमन्त्री यादवको भनाई छ ।
    सप्तरीमा ७२ हजार भन्दा बढी करदाता रहेका छन् । यस कार्यालयले गत आ.व. २०८१÷०८२ मा कार्यालयले ८७ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट