News Category 2073/04/18

खेलकुद विकास समिति सप्तरीले भारोत्तोलन खेलाडीका लागि रकम निकासा गरेन्

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १८ साउन । 
भारोत्तोलन खेलका खेलाडीहरुको खुराकीका लागि जिल्ला खेलकुद विकास समिति सप्तरीले रकम नदिएपछि अहिले उनीहरु अन्यौलमा परेका छन् । 
सप्तरी भारोत्तलन संघले मंगलबार जिल्ला खेलकुद विकास समिति सप्तरीमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी दिइएको छ । 
२०७३ साल मंसिर महिनामा पूर्वाञ्चलमा संचालन हुन गइरहेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडीहरुको खुराकीका लागि आएको रकम प्रशिक्षक तथा खेलाडीहरुले कार्यालयसँग माग गर्दा कार्यालय प्रमुख लक्ष्मण मण्डलले खेलाडीहरुप्रति छुद्र व्यवहार गरेका थिए ।  
भारोत्तोलनका जिल्ला मुख्य प्रशिक्षक दिनेश भुजेलले छैंठो ग्राण्डप्रिक्स राष्ट्रिय भारोत्तोलन प्रतियोगिता र सातौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर राख्दै खेलकुद कार्यालयमा खुराकको रकम माग गरेको बताउनुभयो ।  
यस्तै छैंठो ग्राण्डप्रिक्स राष्ट्रिय भारोत्तोलन प्रतियोगिताका स्वर्ण पदक बिजेता रामकुमार यादवले कार्यालय प्रमुख मण्डलले खेलाडीहरु आफ्नो लागि मात्र खेल्ने गरेको आरोप लगाएकोप्रति दुःख व्यक्त गर्नुभयो । 
त्यस्तै भारोत्तोलनका अर्का राष्ट्रिय खेलाडी मनोज यादवलाई कार्यालय प्रमुखले सोही आरोप लगाउँदै खुराकीको रकम नदिने भन्नुभएको बताउनुभयो । 
यता सप्तरी भारोत्तोलन संघका अध्यक्ष महेश कुमार यादवले खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण मण्डलले खेलाडीहरुलाई छुद्र व्यवहार गरेको प्रति भत्र्सना गर्दै कारवाहीको माग गर्नुभएको छ । 
उहाँले कार्यालय प्रमुख मण्डलको उक्त व्यवहारले सम्पूर्ण खेलाडीको मनोवल घटाउने काम गरेको भन्दै यथासिघ्र खेलाडीहरुका लागि खुराकीको रकम निकासा नगरे आन्दोलनको चेतावनी दिनुभयो । 

प्रतिकृया दिनुहोस