News Category 2073/05/20
तीजसँगै चौठीचन्द्र पर्व एकै साथ मनाईयो
दैनिक समाचारदाता
राजविराज, १९ भदौं ।
यस वर्ष महिलाहरुको महान पर्व तीज र चौठचन्द्र एकै साथ आइतबार मनाएका छन् । आइतबार दिनभरी ब्रतालु महिलाहरुले तीजको अवसरमा भगवान शिवको पुजाआजा गर्दै नाचगान गरेका छन् भने सोही दिन साँझ मैथिली महिलाहरुले चन्द्रमाको पुजागरि चौठचन्द्र पर्व मनाएका छन् ।
यता महिलाहरुको महान पर्व तिजको अवसरमा आईतबार राजविराजमा विभिन्न साँस्कृति कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरको प्राङ्गणमा प्रेस सेन्टर नेपाल सप्तरीको आयोजनामा आयोजित सो सास्कृतिक कार्यक्रममा महिलाहरुले नाचगान गरि मनाएका छन् ।
प्रेस सेन्टर सप्तरीले तीजको अवसरमा मन्दिरको प्राङ्गणमा निशुल्क बेलपत्र र गंगाजलको व्यवस्था गरिएको अध्यक्ष गोपाल प्रसाद गुप्ताले जानकारी दिनुभयो ।
यस्तै सप्तरीको शम्भुनाथस्थित मन्दिर तथा जिल्लाका अन्य शिव मन्दिरहरुमा रहेको शिवलिंगमा ब्रतालु महिलाहरुले पुजा गरेका छन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आइतबार हिन्दू नारीहरु देवादिदेव महादेवको पूजा आराधना गरी मनाएका छन् ।
त्यसैगरी मिथिलाञ्चलमा धार्मिक एवम् सांस्कृतिक पर्व तीज सँगै चौंठचन्द्र पर्व आईतबार साँझ उल्लासमय वातावरणमा मनाएका छन् ।
यसपल्ट तिथिको समयमा हेरफेर भएपछि हरितालिका तीज र चौंठचन्द्र पर्व एकसाथ मनाउन लागिएको हो । पतिको दीर्घायुका लागि आइतबार बिहानैदेखि महिला उपवासमा बसेर हरितालिका तीज पर्व मनाइरहेका छन् भने चौंठचन्द्र पर्वमा पूजामा सहभागी परिवारका एक सदस्य खासगरी महिला आइतबार उपवासमा बसेर साँझपख गौरीपुत्र गणेश र चन्द्रमा पूजा गरेर विधिवत् रूपमा पर्व सम्पन्न गर्छन् ।
ऋद्धिसिद्धिका दाता र विघ्नबाधाहर्ता गणेशको पूजा गरी मङ्गलमयको कामना गर्नु र चन्द्रमाको पूजा गरी मिथ्या कलङ्कबाट बाँच्नु नै चौंठचन्द्र पर्वको मुख्य उद्देश्य हो ।
खासगरी मैथिल समुदाय र थारू जातिमा मनाइने गरिएको यो पर्वको पूजा आँगनमै गरिन्छ । वर्षा भइरहेको समयमा घरमा पनि गर्न सकिन्छ । पूजा गर्नका लागि पूजास्थलमा कलात्मक अरिपन बनाइन्छ । सो अरिपन अरुवा चामलको पीठोको हुन्छ । त्यस अरिपनमाथि चन्द्रमाको आकृतिका साथै पूजा सामग्री राख्ने स्थल अङ्कित गरिएको हुन्छ ।
पूजाको सामग्रीमा नयाँ माटोको भाँडोमा जमाइएका दही, मिठाई, नरिवल, केरा लगायतका सामग्री राखेर पूजा गरिन्छ । चौंठचन्द्रको पूजामा मुख्य भूमिका निर्वाह गर्ने व्यक्ति उपवासमा बसेको हुन्छ । साँझपख स्नान गरी नयाँ वस्त्रधारण गरेर धार्मिक विधिपूर्वक पूजा सम्पन्न गर्छन् । पूजा सम्पन्न भएपछि पूजाका सामग्री लिएर पालैपालो गरेर परिवारका सम्पूर्ण सदस्यले चन्द्रमा दर्शन गर्छन् । आजको दिनमा स्वतः चन्द्रमाको दर्शन गरेमा मिथ्या कलङ्क लाग्ने मिथिला संस्कृतिमा जनविश्वास रहिआएको छ ।
प्राचीन मिथिलाका राजा हेमाङ्गद ठाकुरले यो पूजाको शुभारम्भ गर्नुभएको जनविश्वास छ । उहाँ ज्योतिष पनि हुनुहुन्थ्यो । द्वापर युगमा भगवान् कृष्णले स्यमन्तक मणि चोरी गरेको झुटो आरोपबाट कलङ्कित हुनुभएको थियो । एक ऋषिको सल्लाहमा आजकै तिथिमा चन्द्रमाको पूजा गरेपछि उहाँ मिथ्या कलङ्कबाट मुक्त हुनुभएको धार्मिक ग्रन्थ भविष्य पुराणमा उल्लेख गरिएको छ । यो पर्वको एक पक्ष मिथ्या कलङ्कबाट मुक्त हुनु देखिन्छ भने अर्को पक्ष चोरले आजको रातिमा चोरी गर्न सफल भएमा वर्षभरि सहज ढङ्गले चोरी गर्न सकिन्छ भन्ने भावनाका साथ चोरी गरेर यो पर्व मनाउँछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ