News Category 2082/02/28

राजविराज नगरपालिका दिनभर तनावग्रत,  प्रमुख प्रशासकीय अधिकृत यादवले गरे पदभार ग्रहण, निलम्बित मेयर पक्षद्वारा कर्र्मचारी माथि कुटपिट र कार्यालयमा तोडफोड

दैनिक समाचारदाता

राजविराज नगरपालिका दिनभर तनावग्रत,  प्रमुख प्रशासकीय अधिकृत यादवले गरे पदभार ग्रहण, निलम्बित मेयर पक्षद्वारा कर्र्मचारी माथि कुटपिट र कार्यालयमा तोडफोड

दैनिक समाचारदाता
राजविराज, २७ जेठ ।

    दिनभर तनावग्रत बन्न पुगेका राजविराज नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र प्रसाद यादवले मंगलबार पदभार ग्रहण गरेका छन् ।
    निलम्बित नगरप्रमुख भीमराज यादव पक्षको विरोध प्रदर्शन र धर्नाकाबीच कार्यवाहक नगरप्रमुख इसरत परवीनले कार्यालयमा लगाइएको ताल्चा फुटाएर उनलाई पदभार ग्रहण गराएको हो ।
    यसअघिका प्रमुख प्रशासकीय अधिकृतको सरुवा र नयाँ निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीको बिषयलाई लिएर कार्यवाहक र निलम्बित नगरप्रमुखबीच विवाद भएको थियो ।


    प्रमुख जिल्ला अधिकारी भोला दहालको पहलमा सोमबार अबेर साँझ सम्म छलफल गर्दा समेत दुबैपक्ष बीच सहमति हुन नसकेपछि मंगलबार राजविराज नगरपालिका कार्यालयमा आईतबार निलम्बित नगरप्रमुख भीमराजको अगुवाईमा लगाइको ताला फोडेर कार्यवाहक नगरप्रमुख परवीन सहितका जनप्रतिनिधिहरु कार्यालयमा प्रवेश गरेपछि स्थिति तनावपुर्ण बनेको हो । 
    ताल्चा फुटाएर प्रमुख प्रशासकीय अधिकृत यादवलाई पदभार ग्रहण गराइरहँदा भीमराज समर्थकहरुले नगरपालिमा तोडफोड गरेका छन् ।
    तोडफोडका क्रममा नगरपालिकाका लेखापाल शत्रुघन दास र सर्वसाधारण कमल किशोर साह घाईते भएका छन् । घाइते दुबैको गजेन्द्रनाराण सिंह अस्पतालमा उपचार भईरहेको छ । यसै गरी तोडफोडको दृश्य मोवाईलमा खिचिरहँदा तीन जना सर्वसाधारण समेत प्रदर्शनकारीबाट कुटिएका छन् ।
    प्रमुख प्रशासकीय अधिकृत डा.श्रवणकुमार साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ दिन अघि सरुवा गरेर राजविराज नगरपालिकाकै कर्मचारी शिक्षा अधिकृत भोगेन्द्र प्रसाद यादवलाई निमित्तको जिम्मेवारी दिएपछि निलम्बित मेयर भीमराज यादव पक्ष त्यसको विरोधमा उत्रेका थिए ।
    निलम्बित नगरप्रमुख यादवकै अगुवाईमा तीन दिन अघि नगरपालिकामा तालाबन्दी गरि धर्ना र रिले अनसन शुरु गरिएको थियो । कार्यवाहक नगरप्रमुख परवीनले मन्त्रालयले पत्र पठाई सकेको व्यक्तिलाई नै निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिनुपर्ने तर्क गरिरहँदा निलम्बित नगरप्रमुख भीमराजले डा.साहलाई नै प्रमुख प्रशासकीय अधिकृतको रुपमा राखिनुपर्ने अथवा दरबन्दी अनुसारको उपसचिव स्तरकै प्रमुख प्रशासकीय अधिकृत मन्त्रालायबाट झिकाउनु पर्ने लगायतका विभिन्न ९ बुदे माग राख्दे तालाबन्दी र धर्ना शुरु गरेका थिए ।
    निलम्बित नगरप्रमुख र उनका समर्थक तालाबन्दी र धर्नामा उत्रेपछि कामकाज प्रभावित भएको जनगुनासो बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी भोला दहालको पहलमा दुबै पक्ष तथा अन्य सरोकारबाला निकायका प्रतिनिधि राखेर वार्ताबाट सहमति निकाल्ने प्रयास गरिएपनि सहमति बन्न सकेको थिएन । निलम्बित नगरप्रमुख  यादवले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन लागिएका भोगेन्द्र यादवलाई कुनै पनि हालतमा नस्वीकार्ने अडान लिएपछि वार्ता र छलफल कुने निष्कर्ष निस्केन । 
    तीनदिन देखि लगातार कार्यालय बन्द रहेको अवस्थामा कार्यालयको दैनिक कामकाज र विभिन्न विकास निर्माणका काम समेत अगाडी बढ्न नसकेपछि कार्यवाहक नगरप्रमुख  परवीनले करीव आधा दर्जन वडाध्यक्ष, कार्यपालिका सदस्य, केही वडा सदस्य तथा नागरिक अगुवा सहितको उपस्थितिमा मंगलबार ताला फोड्दै मन्त्रालयको परिपत्र अनुसार भोगेन्द्र प्रसाद यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण गराएकी हुन् ।
    यादवको पदभार ग्रहण कार्यको विरोधमा निलम्बित नगरप्रमुख भीमराज सहित आएका उनका समर्थकहरु नगरपालिकामा ढुङ्गामुढा गर्दै कार्यालयका झ्यालढोका सिसा, तीनवटा मोटरसाईकल, कार्यवाहक मेयर चढने गाडीको सिसा र कार्यालय प्रांगनमा जडान रहेको दुईवटा सिसि क्यामरा फुटाई दिएको कार्यवाहक मेयर परवीनले बताईन् ।
    उनले नगरपालिकाबाट सहज रुपमा सेवा प्रदान गर्न ताला खोलिदिन पटक पटक आग्रह गर्दा पनि वेवास्ता गरेकाले नगरवासी र प्रशासनको सहयोगमा ताला फोड्न बाध्य भएको बताईन् ।
    उनले भ्रष्टाचार आरोपमा अदालतबाट समेत सजाय तोकिएर निलम्बनमा परेका व्यक्तिबाट बिगत तीन बर्ष देखि नगरपालिकाको हरेक कामकाजमा प्रत्यक्ष हस्तक्षेप हुनु दुखद भएको बताईन कुटपीट र तोडफोडमा सहभागि भएकाहरुलाई अविलम्ब पक्राउ गरि कारवाही हुनुपर्ने उनको माग समेत छ ।
    यता तनावकै बीच निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा भोगेन्द्र यादवले पदभार ग्रहण गरेका छन् । बाहिर निलम्बित नगरप्रमुख भीमराज पक्षले प्रदर्शन गरिरहँदा कार्यवाहक नगर प्रमुख परवीन सहित केही जनप्रतिनिधि र कर्मचारीहरुले पदभार ग्रहण गराउँदै उनलाई बधाई तथा शुभकामना दिए । 
    पदभार ग्रहण गर्दे निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले जटिल परिस्थितीमा आफूले जिम्मेवारी पाएको भएपनि इमान्दारीका साथ सो जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता जनाए । निलम्बित नगरप्रमुख भीमराजले नगरपालिकामा विभिन्न विकास निर्माण कार्यमा मनपरी र एकलौटी गर्न खोजेकाले आफू कार्यवाहक नगरप्रमुख विरुद्ध उत्रेको दावी गरेका छन् ।
    आर्थिक वर्ष २०७३÷७४ मा राजरंगशालाको स्तरोन्ती कार्यको ठेक्का लिएका न्यू गहिल कन्स्टूक्सनका संचालक समेत रहेका भिमराज यादवसहित केही निर्माण कम्पनी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेपछि उनी निलम्बित भएका थिए । 
    उक्त आरोपत्र उपर सुनुवाई गर्दै विशेष अदालतले यादवको विपक्ष फैसला सुनाएपछि अहिले उनी सर्वोच्चमा पुनरावेदन गरेका छन् ।
 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट