News Category 2083/01/06

दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण 

दैनिक समाचारदाता

दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण 

दैनिक समाचारदाता
राजविराज, ६ बैशाख । 

    सप्तरीको दुई वटा पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण पाइएको छ । जिल्लाको हनुमाननगर कंकालिनि तथा कञ्चनरुप नगरपालिकाका १ सय ६ बालबालिकामा कडा कुपोषण पाइएको हो । 
    जनचेतना अभियान नेपाल सप्तरीले पोषणको अभावमा कुनै पनि बालबालिका, सुत्केरी र गर्भवती महिला कुपोषित भई जोखिममा नपरोस भन्ने उद्देश्यले दुई पालिकामा पोषण नेपाल परियोजना संचालन गरेपछी बालबालिकामा कडा कुपोषण पाइएको जनाएको छ । 
    कार्यक्रम अन्तर्गत आईतबारसम्ममा हनुमाननगर कंकालिनी नगरपालिकामा ४ हजार १ सय ५६ बालबालिका तथा ७ सय ५५ जना गर्भवती र सुत्केरी महिलाको परिक्षण गरिएको छ । 
    जसमध्ये ७१ जना बालबालिकामा कडा कुपोषण र ३ सय ६० जनामा मध्यम कुपोषण देखिएको जनचेतना अभियान नेपालकी कार्यकारी जुही कुमारी ठाकुरले जानकारी दिईन् । उक्त पालिकामा ३ सय ४० जना गर्भवती तथा सुत्केरी महिलामा परिक्षणका क्रममा पोषणको कमी देखिएको उनले बताईन् । 
    यस्तै कञ्चनरुप नगरपालिकामा ३ हजार ८ सय ३० जना बालबालिका र ८ सय ५९ जना गर्भवती र सुत्केरी महिलाको परिक्षण गर्दा ३५ जना बालबालिकामा कडा कुपोषण र २ सय २० जनामा मध्यम कुपोषण देखिएको उनले बताइन् ।
    उक्त पालिकामा १ सय ७९ जना गर्भवती तथा सुत्केरी महिलामा पोषणको कमी देखिएको उनको भनाई छ । यसरी पहिचान गरिएका सबै बालबालिका र गर्भवती तथा सुत्केरी महिलालाई सम्बन्धित स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा स्थानिय अभिभावकहरुको उपस्थितिमा फुड प्याकेज (पोषणयुक्त सामाग्री) वितरण गरिएको छ । कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन गर्न दुबै पालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नागरिक अगुवाले साथ र सहयोग दिईरहेको उनले बताईन् ।
    केयर नेपालको सहयोग तथा जनचेतना अभियान नेपाल सप्तरीको साझेदारीमा सप्तरीको हनुमाननगर कंकालिनि तथा कञ्चनरुप नगरपालिकामा यस्तो कार्यक्रम सञ्चालन गरिएको हो ।
    परियोजना अन्तर्गत ६ देखि ५९ महिना सम्मका बालबालिकासंगै गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्यकर्मीहरु मार्फत विस्तृत पोषण परिक्षण गरी पहिचान भएका जोखिमयुक्त बालबालिका तथा गर्भवती र सुत्केरी महिलाहरुको स्वास्थ्य अवस्थामा सुधारका लागि पोषणयुक्त सामाग्री सहितको फुड प्याकेज समेत वितरण थालिएको परियोजनाका कार्यक्रम संयोजक अजेन्द्र कुमार दासले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट